अनेरास्ववियुले मसाल जुलुस निकाल्दै भन्यो ‘मुठभेड निम्त्याउने खेल किमार्थ स्वीकार्य छैन।
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
सरकारले दललाई निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो ।
उक्त मसाल जुलुस पश्चात कोणसभालाई सम्वोधन गर्दै अनेरास्ववियु अध्यक्ष दिपक धामिले सरकारलाई कडा चेतावनी दिँदै भने "निषेध र प्रतिशोधको राजनीति तुरुन्त बन्द गर!"
हिजो सिमरामा देखिएको घटना सहितका पछिल्ला गतिविधिले सरकार निर्वाचनको वातावरण बनाउन होइन, प्रतिशोध र निषेधतिर लागिरहेको हाम्रो पुष्टि गर्छ अध्यक्ष धामिले भने ।
नेताहरूलाई स्थान हद गर्ने, राजनीतिक गतिविधिमा रोक लगाउने यो हर्कत एकदमै अलोकतान्त्रिक र अस्वीकार्य छ।
जनतालाई सुरक्षा दिनुपर्ने सरकारले बरु असुरक्षाको वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको छ। आगामी कार्यक्रम र नेतृत्वको सुरक्षाका लागि अनेरास्ववियुको स्वयंसेवक टोली पूर्ण रूपमा तयार छ ।स्वतन्त्र रुपमा राजनीतिक गतिविधि गर्न पाउने सवैको अधिकार भएपनि एमालेको कार्यक्रमलाई केहि ठाँउमा निषेध गर्ने प्रयास सरकारबाटै भएको उनीहरुको आरोप छ । उनीहरुले राजनीतिक गतिविधिमा लगातार निषेध भए प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् ।
अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले सुरक्षा दिन नसक्ने सरकारले निर्वाचनको नाटक गरिरहेको समेत बताएका छन् ।