अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विद्यार्थीको हकहितको संरक्षण र प्रवर्द्धनमा समर्पित भएको बिद्यार्थी संगठन हो जसले शैक्षिक क्षेत्रभित्र हुने विकृति विसंगतिहरूलाई चिर्दै , समन्वय र सहकार्यको माध्यमबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न सक्रिय रूपमा भूमिका खेलिरहेको छ। यसै सन्दर्भमा , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कानून तथा संघिय मामिला विभागले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा समर्पित राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता यही २०८१ साल भाद्र २६ , २७, र २८ गते आयोजना गर्न लागेको छ। नेपालको कानुनी र राजनीतिक परिदृश्यमा उहाँको महत्वपूर्ण योगदानलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो।
संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ नेपाली राजनीतिक र कानूनी क्षेत्रमा एक शिखर व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष / सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति बन्नुभएको थियो। प्रतिनिधि सभा निर्वाचन २०५६ मा इलाम २ बाट निर्वाचित उहाँ संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०७४ र २०७९ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता , पार्टीको उपाध्यक्ष समेत हुनुभएको थियो । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । उहाँ नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत हुनुहुन्थ्यो । नेपाल बार एसोसिएसनको महासचिवसमेत हुनुभएको थियो ।
कार्यक्रमको उद्देश्य: संविधान निर्माण र विधिको शासन कायम गर्न समर्पित नेता स्वर्गीय सुवासचन्द्र नेम्वाङको योगदानलाई सम्मान एवं स्मरण गर्दै विद्यार्थीहरूमा कानुनी शिक्षा र वकालत गर्ने सीपहरू अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराउदछु।
योग्यता र टिम दर्ता : नेपालमा स्नातक तह अध्यापन गराउने प्रत्येक शैक्षिक संस्थाका विद्यार्थीहरु राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगितामा प्रतिष्पर्धा गर्नका निम्ति योग्य छन्। प्रतियोगितामा भाग लिन चाहने सहभागी समूहले कानून विभागले तोकेको म्याद भित्रै कलेजको अनुमति पत्र , सहभागी समूहका सदस्य र सम्पर्क व्यक्तिको विवरण सहित गुगल फारम भरि टिम दर्ता गराउनुपर्नेछ।
पुरस्कार : विजेता टोलीलाई रु ५०,००० र उप विजेतालाई रु २५,००० नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिनेछ। साथै, मौखिक बहसमा र बहस नोटको मुल्याकंन मा सबै भन्दा बढी अंक ल्याउने दुवै समूहलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ। राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिताको सहभागीहरुलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा निम्न चरणहरू हुने अवगत गराउँछु –
(क) प्रारम्भिक चरण (Preliminary Rounds)
(ख) क्वार्टर फाइनल चरण (Quarter Final Rounds)
(ग) सेमी-फाइनल चरण (Semi Final Round)
(घ) अन्तिम चरण (Final Round)
प्रतियोगिता नेपाली भाषामा संचालन हुनेछ। मुट कोर्टमा सहभागी हुने सहभागीहरुको लागि आवासको व्यवस्था आयोजक स्वयमले गर्नेछ। मुट कोर्ट सञ्चालनको दिनको सहभागीको खाना तथा खाजाको व्यवस्था आयोजकले गर्नेछ । काठमाडौ उपत्यका भित्रका सहभागीहरुको लागि आवासको व्यवस्था आयोजकले गर्नेछैन। सहभागी समूहलाई सम्बन्धित विषयमा आवश्यकता अनुसार अभिमुखीकरण समेत दिइनेछ।
अन्त्यमा , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रिय कानून तथा संघिय मामिला विभागले यस अर्थपूर्ण मुट कोर्ट प्रतियोगितामा सहभागी हुन देशभरका कानून कलेजहरूलाई आमन्त्रण गर्दछ । हामीले सम्माननीय नेता सुवासचन्द्र नेम्वाङको विरासतलाई सम्मान गर्दै, कानुनी पेशाकर्मीहरु आगामी पुस्तालाई न्याय र शासन प्रतिको समान समर्पण र प्रतिबद्धतालाई मूर्तरूप दिन प्रेरित गर्ने लक्ष्य राखेर यो कार्यक्रम गराउदैछौ। यस कार्यक्रमलाई सफल बनाउनको लागि हामी तपाईंको सहयोगको कदर गर्दछौं। तपाईंको समर्थन , समर्पण र उपस्थितिको लागि हार्दिक धन्यवाद। थप जानकारी एवं सूचनाका लागि सम्पर्क व्यक्ति र नम्बर :
श्री गोपाल नेपाल , ९८४९६६५१७२ प्रमुख अनेरास्ववियु कानून तथा संघिय मामिला विभाग प्रमुख